मोरिंगाको महत्व हामीले बुझ्न सकेनौ

मोरिंगाको महत्व हामीले बुझ्न सकेनौ

 

चमत्कारी रुखको उपनामले विश्वमा ख्याती कमाएको मोरिंगाको नेपालमा भने अहिले सम्म पनि व्यावसायिक रुपमा खासै खेती गरेको पाइदैन । तराई तिर सामान्य रुपमा हरेक घरको वरिपरि २–४ वटा मोरिंगाका बोटहरु देख्न पाइन्छ । यसको खेती उद्देश्य र चाहिएको परिमाण अनुसार सामुदायिक परियोजनामा वा परिवार तहमा सानो परिमाणमा गर्ने गरिएको छ । मोरिंगाको कलिलो कोसालाई बिक्री गर्न थालिएको भएता पनि यसको अन्य भागहरुको उपयोगिता बारे आम कृषकहरु अनभिज्ञ नै छन् । यसले अझै पनि हाम्रो देशमा व्यावसायिक महत्व पाउन सकेको छैन् । चैत्र महिना देखि करिब २ महिना सम्म बजारमा उपलब्ध हुने यसको कोसाहरु १५०–२०० प्रति के.जी. का दरले खुद्रा मूल्यमा सजिलैसंग बिक्री भएको पाइएता पनि यसको व्यावसायिक खेतीमा धेरैको ध्यान गएको पाइदैन । हाम्रो हावापानीमा सामान्य रुपमा नै सजिलै संग खेती गर्न सकिने बहुपयोगी यो रुखको बारेमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लगायत कृषि मन्त्रालय अन्तगर्तका विभिन्न निकायहरुमा समेत खासै केही चाँसो नदेखाएकोले आम कृषक माझ यसको बारेमा जानकारी दिने उद्देश्यले यो लेख तयार पारिएको छः

 

के हो मोरिंगा ?
मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढि किसिमको पोषण तत्व र ४६ किसीमका एन्टी अक्सिडेन्ट पाइने , तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने र छिटो बाली लिन सकिने यो खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अत्यन्त अपहेलित बाली हो (नेपालको सन्दर्भमा)  । यसलाइ विभिन्न क्षेत्रमा विभिन्न नामले चिनिन्छ । तराई तिर यसलाई सोहिजन, सैजन, सजिउन, मुनका आदि नामले चिनिन्छ भने मध्य पहाडी भेगमा सितल चिनीको नामले प्रख्यात छ । यसको अंग्रेजी नाम मोरिंगा ओलिफेरा हो भने यसको कोसा ड्रम पिट्ने लट्ठी जस्तो भएकोले अंग्रेजीमा Drum Stick  पनि भनिन्छ ।

मोरिंगाका बहुउपयोगी गुणहरु
पोषण तत्वका कारण मात्र नभएर वातावरणिय हिसाबले पनि अत्यन्त उपयोगी मोरिंगालाई मानवको लागि पोषिलो खाना, बालिको लागी मल, चर्म र एलर्जीका लागि औषधि, घाउ निको पार्न हर्बल आयोडीन आदिको रुपमा प्रयोग गर्न सकिन्छ । यसमा उपलब्ध पोषणका कारण कुपोषणको समस्या भएका अफ्रिकी मुलुकहरुमा यसको उत्पादन र उपभोगलाई विभिन्न सरकारी तथा गैह« सरकारी संस्था मार्फत अभियानकै रुपमा अगाडी बढाइएको छ । हामीले पोषणको लागि दैनिक रुपमा उपभोग गर्ने फल फूल, दुग्ध पदार्थ भन्दा मोरिंगाको १०० ग्राम पातमा कयौ गुणा बढी पोषण तत्व पाइन्छ । मोरिंगाको दानाबाट निकालिएको तेल खानको लागि उच्च गुणस्तरको मानिन्छ । समग्रमा भन्नु पर्दा यसमा ३०० भन्दा बढी लाभदायक गुणहरु पाइने हुनाले यसलाई चमत्कारी रुख ९ःष्चबअभि तचभभ० पनि भन्ने गरिन्छ ।

मोरिंगाको प्रयोग
खाद्य तथा पेयमा प्रयोग
कलिलो नरम फल (कोसा) विभिन्न परिकारहरु बनाएर तरकारीका रुपमा प्रयोग गरिन्छ । यसको बीउबाट उत्तम किसिमको तेल निकालिन्छ जुन खाना पकाउन तथा श्रृंगारमा प्रयोग गरिन्छ । कलिलो बीउ हरियो केराउको परिकार बनाए झैं प्रयोग गरिन्छ । पातहरु संसारको धेरै भागमा तरकारीको रुपमा प्रशस्तै प्रयोग गरिन्छ । यसको जरा मशलाको रुपमा प्रयोग गरिन्छ । ताजा अथवा सुकाएको फूल चिया बनाउन प्रयोग गरिन्छ ।

स्वास्थ्यमा प्रयोग
मोरिंगा बच्चाहरुको कुपोषणलाई न्यूनीकरण गर्नका लागि आहाराको रुपमा भारत लगायत धेरै अफ्रिकी मुलुकहरु प्रयोग गरिन्छ । यसमा हाम्रो शरीरको रोग प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउने क्षमता भएकोले फूड सप्लिमेन्टको रुपमा प्रयोग गरिन्छ । अमेरिका तथा युरोपका बजारहरुमा मोरिंगाका विभिन्न क्याप्सुलहरु उपलब्ध छन् । यसलाई घरायसी रुपमा विभिन्न रोगहरु उपचार गर्ने परम्परागत औषधी बनाउन प्रयोग गरिने चलन पनि छ । हालै गरिएको अनुसन्धान अनुसार यसले एन्टीबायोटिक गतिविधिका रसायन उत्पादन गर्ने भएकोले औषधीहरुको लागि जैविक उत्प्रेरकको रुपमा काम गर्ने बताइएको छ । विभिन्न किसिमका भाईरस विरुद्ध शरिरको इम्युनिटी बढाउनको लागि यो सबैभन्दा प्रभावकारी वनस्पती रहेका कुरा विभिन्न अनुसन्धनात्मक लेखहरुमा प्रकाशन भईरहेको छ ।

पशु आहारमा प्रयोग

वायोमासाको पशु सम्वन्धी आहारमा मोरिंगाको प्रयोग वारे गरिएको अनुसन्धान अनुसार पशुको आहारमा ४० देखि ५० प्रतिशत मोरिंगाको पात प्रयोग गर्दा गाईको दुध उत्पादन प्रतिदिन ३० प्रतिशतका दरले वृद्धि भएको तथ्य सार्वजनिक गरेको छ । सो अध्ययन बमोजिम दुधालु गाईलाई प्रत्येक दिन १५ देखि १७ के.जी. मोरिंगाको पात खुवाईएको थियो । मोरिंगा ख्वाउनु अघि प्रतिदिन ७ लिटर दुध दिने गाईले मोरिंगा खुवाएपछि दुध उत्पादन वृद्धि भई १० लिटर प्रतिदिन पुगेको थियो । त्यसै गरी मासु उत्पादनको लागि पालन गरिने पशुहरुमा पनि मोरिंगा खुवाएपछि उल्लेखनिय मात्रामा वजन वृद्धि भएको पाईएको थियो ।

अन्य प्रयोग यसको बीउलाई पानी शुद्धिकरण प्रयोग गरिन्छ भने पिनालाई मलको रुपमा प्रयोग गर्ने गरिन्छ । यसको पिनालाई मलको रुपमा प्रयोग गर्दा ३० प्रतिशत सम्म उत्पादन बृद्दि भएको तथ्यहरु सार्वजनिक भएका छन् ।