पशुमा यी कुराहरु ध्यान दिनु होस ।

पशुमा यी कुराहरु ध्यान दिनु होस ।

घर घरमा पालिरहेको होस् वा व्यबसायिक रुपमा पालिरहेका पशुमा निम्न रोगहरु आउन सक्दछ तसर्थ यसको निम्नकुराहरुमा एकदम नै ध्यान दिनुपर्दछ ।

चाडपर्वको बेला भएकोले छिमेकी देशहरुबाट खसी, बोका, भेडा, च्याङ्ग्रा आदि आयात हुने हुँदा पिपिआर/खोरेत रोग भित्रिने संभावना बढी हुन्छ। त्यसकारण आफ्ना घरमा पालिएका खसी, बोका, बाख्रा र भेडाच्याङ्ग्राहरुमा पिपिआर/खोरेत विरुद्द खोप लगाउनुहोस्। साथै नयाँ पशुवस्तु बथानमा मिसाउनुभन्दा पहिले कम्तीमा पनि सात दिनसम्म अलग्गै राख्नुहोस्।

प्रति दिन पाँच लिटर भन्दा बढी दूध दिने दुधालु पशुवस्तुहरुलाई दैनिक रुपमा ७०-८० मिलीलिटर क्याल्सियमको झोल खुवाउनुहोस्।

भर्खर जन्मेका बाच्छा-बाच्छीहरुमा पिंक आई अथवा Infectious bovine kerato conjunctivitis संक्रमणका लागि अनुकुल वातावरण भएकोले यो रोग देखापरेमा १% बोरिक एसिडको झोल बनाई तीन-तीन घण्टाको फरकमा आँखा सफा गरिदिनुहोस्।

दुधालु गाईवस्तुलाई थुनेलो (Mastitis) को समस्याबाट बचाउन गोठ सफा र सुग्घर राख्नुहोस्। साथै ग्लिसिरिन र पोभिडन आयोडिन १:९ को अनुपातमा बनाइएको झोलमा दुध दुहिसकेपछि ३० सेकेण्डसम्म थुन डुबाउनुहोस्।

भदौ देखि मंसिरसम्म भैँसीहरु ऋतुकालमा आउने हुँदा ऋतुचक्र (Estrus cycle) मा आएको लक्षणहरु राम्ररी अवलोकन गर्नुहोस्। भैँसीहरुले गाईको जस्तो लक्षण नदेखाई प्राय: सुक्ष्म ऋतुकालको लक्षण देखाउँछन्। भैसीहरुलाई प्रजनन् गराउनुभन्दा पहिले नाम्ले-माटे विरुद्ध अक्सिक्लोजानाईड-लिभामिसोल (Oxyclozanide-levamisole) खुवाउनुहोस्। प्रजननयोग्य भैसीहरुलाई ऋतुचक्रमा ल्याउन मिनिट्रस ट्याबलेट (Minitrus tablet) वा कोफेकु ट्याबलेट (CoFeCu Tablet) दुई चक्कि प्रति दिनका दरले ८-१० दिनसम्म खुवाउनुहोस्। यसका अलावा भिटामिन तथा खनिजको धूलो मिश्रण पनि ५० ग्राम प्रति दिनका दरले पानीमा वा खोलेमा मिसाएर खुवाउनुहोस्।

वनजंगलको आसपास चराउने गरिएको पशुहरुको शरीरमा किर्नाको प्रकोप देखिएमा पशुलाई सफा पानीले नुहाइदिने, गोठ ओभानो र सफा राख्ने र प्रकोप अत्याधिक भएमा १ भाग सूर्तीको पातको झोल १० भाग पानीमा मिसाई बनाएको झोल अथवा बोझोको पातको रस २-३ दिनको फरकमा ३-४ पटकसम्म शरीरभरि दलिदिनुहोस्। प्रकोप ज्यादा भएमा साइपरमेथ्रिनयुक्त बाह्य परजिवीनाशक जस्तै- बुटेक्स, क्लिनर, एमिट्राज १ मिलिलिटर प्रति लिटर पानीमा घोली पशुको शरीर भिज्नेगरि हरेक दुई हप्ताको फरकमा तीन देखि चार पटकसम्म दलिदिनुहोस्।

बाख्रामा मोओला लागेमा ५% पोभीडन आयोडिन वा १% कपर सल्फेट वा २% बोरिक एसिडको झोल वा १% पोटासको घोलले मुख सफा गर्नुहोस्। यी औषधीहरु उपलब्ध नभएमा तोरीको तेलमा बेसारको लेप बनाई घाउमा राम्रोसँग दलिदिनुहोस्। मोओलाको भाइरस घाउ, चोटपटक लागेको वा काटेको ठाँउबाट मानिसमा सर्न गई त्यस्तै प्रकारको घाउ खटिरा आउन सक्ने हुनाले त्यस्तो रोगी बाख्रालाई घाउ चोटपटक नलागेको मान्छे वा पन्जा लगाएर स्याहार सुसार गर्नुहोस्। यो समयमा दानामा प्रयोग हुने मकै र बदामको पिनामा अफ्लाटक्सिन (Aflatoxin B1) को समस्या देखिने हुँदा यी सामग्रीहरुमा ११% भन्दा कम जलांश (moisture) हुनेगरि घाममा राम्रोसँग सुकाउनुहोस्। पशुपन्छीहरुका लागि घरमै दाना तयार गर्दै हुनुहुन्छ भने तोकिएको मात्रामा टोक्सिन बाइण्डर अनिवार्य प्रयोग गर्नुहोस्।

 

| Advertisement |

Promotional banner

 

 

Leave a Reply

Your email address will not be published.